काठमाडौं । राजधानीमा राजावादीहरूद्वारा उग्र प्रदर्शन भइरहेका बेला संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूले शुक्रबार भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दै राजतन्त्र पुनःस्थापनाको प्रयासलाई तीव्र आलोचना गरेका छन्।
तीनकुने क्षेत्रमा राजावादीहरूले हिंसा, तोडफोड र आगजनी मच्चाइरहेका बेला गणतन्त्र पक्षधर दलहरू शान्तिपूर्ण ¥यालीसहित भृकुटीमण्डपमा भेला भए। सभामा शीर्ष नेताहरू पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रामक रुपमा प्रस्तुत भए भने सरकारलाई समेत राजावादी गतिविधि रोक्न कठोर कदम चाल्न चेतावनी दिए।
प्रचण्डको कटाक्ष : मण्डलेहरूले अराजकता मच्चाए
सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले राजावादीहरूलाई ‘मण्डले’ भन्दै उनीहरूको गतिविधिलाई अराजकताको पराकाष्ठा भनेर टिप्पणी गरे।
‘घरमा आगो लगाउने, प्रहरीमाथि आक्रमण गर्ने काम राजावादीहरूको उक्साहटमा भएको छ। सरकारले समयमै कठोर कदम नचाले देश अस्थिरतातर्फ जान सक्छ,’ प्रचण्डले भने।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति आशंका व्यक्त गर्दै ूप्रधानमन्त्री भित्रभित्रै राजावादीसँग मिल्न खोज्नु भएको त होइन? भन्ने गम्भीर प्रश्न उठाए।
माधव नेपालको चेतावनी :‘राजतन्त्रको सपना देख्न छोड’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशीय शासन प्रणाली फर्काउन खोज्नेहरूलाई कडा चेतावनी दिए।
‘नेपाली जनताले २४० वर्षको शाह वंश र १०४ वर्षको राणा शासनको दासत्व सहनु परेको इतिहासलाई कहिल्यै नबिर्सौं। राजतन्त्र फर्किने सपना देख्नेहरू ठूलो मूल्य चुकाउन बाध्य हुनेछन्,’ उनले भने।
नेपालले वर्तमान सरकारलाई जनअपेक्षा पूरा गर्नमा चुकेको आरोप लगाउँदै, त्यसकै कारण राजावादीहरूलाई उक्साहट मिलेको दाबी गरे।
‘इतिहास फर्किँदैन, षड्यन्त्र सह्य हुँदैन’ – विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ुविप्लवु ले विदेशीको षड्यन्त्रमा राजतन्त्र पुनःस्थापनाको प्रयास भइरहेको आरोप लगाए।
‘हाम्रो संघर्षले प्राप्त गरेको लोकतान्त्रिक व्यवस्था उल्ट्याउने कुनै पनि प्रयास अस्वीकार्य छ। इतिहास फर्किँदैन, कुनै षड्यन्त्र सफल हुन दिँदैनौं,’ विप्लवले चेतावनी दिए।
समाजवादी मोर्चाको भर्त्सना
राजावादीहरूले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइको निजी निवास, सञ्चार गृहहरूमा गरेको तोडफोड र आगजनीप्रति समाजवादी मोर्चाले कडा भर्त्सना गरेको छ।
प्रचण्ड, माधव नेपाल, महेन्द्रराय यादव र विप्लवले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र विधिको शासनमाथि आक्रमण गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारलाई आग्रह गरे।
पूर्वराजालाई चेतावनी शान्तिपूर्ण रहनु, अन्यथा’
माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्रलाई संविधान र विधिलाई स्वीकार गर्न चेतावनी दिइन्।
‘नारायणहिटीबाट शान्तिपूर्ण रूपमा नागार्जुन पुगेको कुरा बिर्सनु हुँदैन। राजनीतिमा आउन मन छ भने पार्टी खोल्नूस्, चुनाव लड्नूस्। जनताको अनुमोदनबिना कुनै शक्ति फर्किँदैन,’ भुसालले भनिन्।
सभामा सहभागी नेताहरूले लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्न खोज्ने कुनै पनि तत्वलाई कानूनी कठघरामा उभ्याइने चेतावनी दिएका छन्।




