मुख्य समाचार

हिमाल कालाेदेखिनु जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले हिमाल कालाेदेखिन थाल्नु नै जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण रहेको बताएका छन् । ‘सहारा नेपाल’ र ‘कोकाकोला फाउण्डेसन’ ले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उहाँले हिमाल जोगाउन सचेत हुनुपर्नेमा जोड दिए ।

“हिउँले ढाकिने माछापुच्छ्रे हिमाल केवल कालोपत्र जस्तो मात्र देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण हो । यो समस्या केवल माछापुच्छ्रेमै सीमित छैन, सम्पूर्ण हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको सङ्केत हो,” घिमिरेले भने , “यसले पानीका मुहान सुकाउने र मानिस तथा जनावरको जीवनयापनमा कठिनाइ सिर्जना गर्ने काम गरेको छ ।”

विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रहरूले अत्यधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको उनको भनाइ छ । बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रम वृद्धिले नेपाललाई गम्भीर रूपमा प्रभावित बनाएको भन्दै सभामुख घिमिरेले नेपालको वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्नका लागि निरन्तर प्रयासरत रहनुपर्नेमा जोड दिए ।

“जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीका सामाना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारको सहकार्य अपरिहार्य छ,” उनले भने , “विशेषगरी, जीवनयापन सङ्कट भोगिरहेका समुदायलाई सहयोग पुर्‍याउने तथा वातावरणीय क्षति न्यून गर्नका लागि योजनाबद्ध प्रयास आवश्यक छ ।” जलवायु परिवर्तनको समाधानमा जनप्रतिनिधिको भूमिका पनि अपेक्षित रहेको सभामुख घिमिरेको भनाइ छ । उनले संसद् र सांसदहरूले जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण पहल गरिरहेको जानकारी गराए ।

“क्लाइमेट पार्लियामेन्ट’ जस्ता अन्तर्राष्ट्रिय फोरममार्फत नेपालको संसद् र सङ्घीय संसद्का सदस्यले जलवायु नीति निर्माण, नवीकरणीय ऊर्जाको प्रवर्द्धन र वातावरणीय सुधारका लागि आवश्यक पहल गरिरहेका छन्,” घिमिरेले भने , “नवीकरणीय ऊर्जाको प्रवर्द्धन, वातावरणीय कानुन निर्माण तथा हरित बजेट विनियोजनका कार्य संसदमार्फत अघि बढिरहेका छन् ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *