
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन्
शनिवार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको बिरोध पनि गरेका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पद चाहिएकाले दुई कम्युनिष्ट पार्टीहरु मिलेर बनाएको सरकार ढालेर कांग्रेससँग मिलेर सरकार बनाएको आरोप लगाए ।नेपालले प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको पनि बताए । नेपालले प्रधानमन्त्री ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी गरे ।
प्रधानमन्त्री ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित भएको नेपालको आरोप छ । नेपालमा दुई वटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरु तयार रहेको भन्दै संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई नेपालले चेतावनी दिएका छन् ।