काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री समेत रहेका भुपेन्द्र राई कोशी सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्ति भएका छन् । मन्त्री राइकै नेतृत्वमा शुक्रबार कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको हो । खोटाङमा जन्मिएका राईले खोटाङको भौतिक पूर्वाधार र यातायातको क्षेत्रको विकास निर्माणमा थप पहल गर्ने खोटाङेवासीले विश्वास समेत लिएका छन् । मन्त्री राईले राजनीतिमा प्रवेश गरेदेखी नै जनताका समस्यालाई बुझेर विकास निर्माणका कार्यमा निकै भूमिका खेल्दै आएका छन् ।
कृष्णप्रसाद सिटौला समूहका राईले आजै भौतिक पूर्वाधार मन्त्रीको सपथ ग्रहण समेत गरिसकेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । कोशी सरकारमा सहभागी भएपछि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार बिहान नै शपथ ग्रहण गरेका छन् ।
यसैगरी खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन । शुक्रबार शेखर समूह विना कांग्रेस सरकारमा सहभागी भएको हो ।
कोशीमा शेखर कोइराला पक्षले २ वटा मन्त्रालय मागेको थियो । संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने बताएको थियो । कांग्रेसबाट थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने स्रोतले जनाएको छ।




