राजनीति

सत्तापक्ष भएर प्रतिपक्षको आवाज बोलेपछि महामन्त्री थापा र शर्माको आलोचना

काठमाडौं । राजनीतिक समीकरण परिवर्तन भएपछि सरकारमा सामेल भएका नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा अहिले पार्टीको र संसद्को मूल्यमान्यता विपरीत अभिव्यक्ति दिँदै आएका छन् ।

संसदीय मुल्यमान्या अनुसार सरकारमा सामेल भएका राजनैतिक दल तथा सांसदहरूले सत्तापक्ष नेतृत्व गर्दै विपक्ष दलहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने हो तर अहिले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संसद् बैठकमा प्रतिपक्षको जस्तो भूमिका गर्दै आएपछि अहिले महामन्त्री थापा र शर्माका बारेमा प्रश्न खडा भएको छ ।

देशको सबैभन्दा ठुलो, पुरानो र लोकतान्त्रिक शक्तिशाली पार्टी नेपाली काँग्रेसको महामन्त्री जस्तो पदमा रहेर प्रतिपक्षको प्रश्न विना नै लोकप्रियता कमाउनका लागि दिने गरेका अभिव्यक्तिले दुई पार्टीबिचको गठबन्धनको सरकारका बारेमा प्रश्न उठ्न सक्छ । नेपाली काँग्रेसका महामन्त्रीमा नियुक्ति भएका थापा र शर्माले प्रतिपक्षको आवाज बोल्न थालेपछि जनताले महामन्त्रीहरू सत्तापक्षका हुन की प्रतिपक्षका भन्ने विषयमा प्रश्न उठाएका छन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षले सत्ता केन्द्रित राजनीति गरेर राजनीतिक दलहरुबीच द्वन्द्व स्थापना गर्दै सङ्घ र प्रदेशबिच असन्तुलन कायम गरेपछि प्रधानमन्त्री ओलीले माओवादीसँगको गठबन्धनलाई तोडेर राजनीतिक स्थायित्व र देशको समग्र विकासका लागि नेपाली काँग्रेस र एमालेको सहमतिमा सरकार गठन भएको हो । सरकारबाहिर रहेका बेला महामन्त्री थापा र शर्माले राजनीतिक स्थायित्व र देशमा शान्ति स्थापनाका लागि नेकपा एमाले र नेपाली काँग्रेसको सहमतिमा सरकार बन्नुपर्ने बताउँदै आएपछि बिस्तारै नेकपा एमाले र काँग्रेसको सरकार बनेको छ ।

काँग्रेस र एमालेको सरकार बनेपछि देशमा परिवर्तनको सङ्केत देखिएको जनताले मुल्याङकण गर्न थालेका छन् । राजनीतिक परिवर्तनपछि गठबन्धन भएको सरकारले १७\१८ देखि विवादमा रहेको संक्रमणकालीन न्यायसम्बन्धीको विधेयकलाई दलहरुबीच सहमति गरेर प्रतिनिधिसभाबाट पारित गरिसकेको छ । उक्त कार्यलाई सबै राजनीतिक दल तथा नागरिक समाजले खुसी व्यक्त गरेका छन् ।महामन्त्री थापा र शर्माले सत्तामा रहेर विपक्ष दलको आवाज दिएपछि महामन्त्रीहरूमा नैतिक शिक्षाको अभाव भएको पुष्टि भइसकेको छ । अझ गम्भीर कुरा महामन्त्री भएर नेपालमा बङ्गलादेश जस्तो परिस्थिति सिर्जना हुन सक्ने भन्दै दिएको अभिव्यक्ति हो ।

नेपालमा त्यस्तो परिस्थिति सिर्जना हुनु के सही हो ? महामन्त्री ,मन्त्री र सरकारमा सामेल भएका दलहरूले बाह्य क्षेत्रमा खटेका घटनाको प्रभाव नेपालमा नपर्ने भन्दै जनतालाई विश्वास दिलाउनुपर्नेमा झन् देशमा नागरिकको मनोबल बिग्रिने अवस्थाको भाषण सङ्घीय संसद्मा गर्नु कतिको जायज हो ? विगत देखी नै नेपाली काँग्रेसका महामन्त्री पार्टीको निर्देशनबाहिर हुन्छन् प्राय । कुनै पनि पार्टीले तय गरेका नीति नियम र संस्कारलाई पालना गर्नु सबै राजनीतिक दल र नेताहरूको जिम्मेवारी हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *