रुपन्देही ।लुम्बिनी प्रदेशमा सोमबार नियुक्त हुनुभएका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले कांग्रेसका १० मन्त्रीहरूको शपथ ग्रहण आज बिहान हुने भएको छ ।
१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र काँग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन् । सोमबार मुख्यमन्त्रीको नियुक्ति भएपनि दुवै दलबाट मन्त्री हुने आकाङ्क्षी बढी भएकाले बुधबारलाई शपथको समय सारिएको हो । मंगलबार राती मात्रै दुवै दलले मन्त्रीको नाम टुंगो लगाएका हुन् ।
एमालेका केन्द्रीय सदस्य तथा मन्त्रीमा नाम सिफारिस हुनुभएका भूमिश्वर ढकालका एमालेबाट उहाँसहित गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा हुनुहुन्छ । यसपटक मन्त्री दोहोरिनेमा रुपन्देहीका भुमिश्वर ढकाल र गुल्मीका दिनेश पन्थी हुनुहुन्छ । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री पन्थी आन्तरिक मामिला मन्त्री हुनुहुन्थ्यो । त्यसैगरी पाल्पाका खेमबहादुर सारु र दाङकी सीता शर्मा मन्त्रीमा नयाँ अनुहार हुनुहुन्छ ।
यसैगरी नेपाली कांग्रेसबाट पनि ५ मन्त्रीले सँगै शपथ लिनुहुनेछ । मंगलबार राती काँग्रेसले बर्दियाका जन्मजय तिमिलसिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको मन्त्रीमा सिफारिस रोज राणाले जानकारी दिनुभयो । काँग्रेसले प्रमुख सचेतक रहनुभएका तिमिल्सिनाको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको हो ।
दुवै दलले मन्त्री छान्न ढिलाई गरेकाले आज बुधबार बिहान बिनाविभागीय रुपमा शपथ लिने र बिहीबार मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बन्नुभएको हो भने अरु सबै नयाँ हुनुहुन्छ ।
लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बन्नुभएको थियो ।
यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म सहभागी छैनन् तर उनीहरुका लागि २ मन्त्रालय खाली राखिएको छ । ८७ सदस्यीय प्रदेश सभामा अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक एक गरी १३ सांसद मात्रै विपक्षमा रहने भएका छन् ।




