काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकिएमा कृषिजन्यवस्तु आयात कम गर्न सकिने बताएका छन् । फोर एच नेपाल नामक सस्थाद्वारा शुक्रबार आयोजित तेस्रो कृषि युवा नेतृत्व विकास सम्बन्धी सम्मेलनको उद्घाटन गर्दै उनले नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवालाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्ने बताए ।
उनले भने , “रोजगारी र उच्च शिक्षाको बाहनामा नेपालीहरु विदेश पलायन भएका छन् । यसलाई रोक्ने सरकार र सांसद लाग्न जरुरी छ ।” युवालाई कृषि क्षेत्रमा जोड्न सके खाध्यमा परनिर्भरता हट्ने उनले बताए ।
हाम्रो परिवार, समाज र सिङ्गो राष्ट्रका लागि आवश्यक युवाशक्ति विदेश पलायन भएका देशका लागि सुखद् नभएको उनको भनाइ थियो । नयाँ सोच र नयाँ प्रतिबद्धताको आवश्यकता अहिलेको समाजमा रहेको उनले बताए । राज्यले पूरा गर्नुपर्ने अभिभावकीय भूमिकालाई महत्व दिँदै युवालाई स्वदेशमा नै लगाउनुपर्ने उनले बताए । उनले भने , “यो देशमा केही हुँदैन भनेर विदेशिन चाहाने युवालाई यही कर्म गर्ने वातावरण बनाउन जरुरी रहेको छ ।” कृषिमा आधारित हाम्रो समाज, अर्थतन्त्र र उद्योगबाट नै अग्रमनको खाका तयार हुने उनको भनाइ थियो ।
फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, द एसिया फाउण्डेसनका वातावरण अधिकृत सविना लामाले जलवायु परिवर्तनले समाजमा परेको असर रोक्नका लागि सबै एक भएर लाग्नुपर्ने बताए ।
जलवायु परिवर्तनले कृषि क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको जनाउँदै उनले कृषिलाई आधुनिकीकरण गर्दै युवाहरुको भूमिकालाई बढाउन आवश्यक रहेको बताए । राज्यका नीति तथा कार्यक्रम युवा लक्षित बनाउँदै लैजान उनीहरुले सुझावसमेत दिए । समिटमा कृषि क्षेत्रमा काम गर्ने एक सय बढी युवाको सहभागिता रहेको छ ।




