काठमाडौं । सरकारले आफ्ना माग पुरा नगरेसम्म आन्दोलन जारी राख्ने राप्रपाले अडान लिएको छ । सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग पुरा नगरे प्रधानमन्त्रीलाई पुनः ध्यानाकर्षण गराउने र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोेल्दै भ्रष्टाचारलगायतका जनजीविकाको मुद्दामा समेत आन्दोलन गर्ने बताए । अध्यक्ष लिङदेनले केन्द्रीय कार्यसमितिको बैठकमा गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएको विषय सार्वजनिक भएकाले नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन समेत माग गर्ने निर्णय गरेको बताए ।
राप्रपाले प्रतिपक्षको आवाजलाई दबाउन सत्ता केन्द्रित दलले विपक्षीको विरोधकाबीच जबरजस्त संसद् चलाउने कदमको विरोध गर्ने निर्णय भएको जानकारी दिए । बैठकले प्रतिपक्षीको मागलाई बेवास्ता गर्दै जबरजस्त संसद् चलाउनु संसदीय मुल्यमान्यता विपरीत रहेको समेत बताए । साथै उनले पार्टीकी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर सफाइ पेस गर्न पनि निर्देशन दिएको जानकारी दिए । अध्यक्ष लिङदेनका अनुसार बैठकले राजनीतिक कार्यपत्रसहित महासचिव र कोषाध्यक्षको प्रतिवेदन समेत पारित गरेको छ । उक्त बैठकमा राप्रपा अध्यक्ष लिङदेनले गत पाँच वर्षमा कृषि अनुदानका नाममा तीन तहको सरकारले एक खर्ब रुपैयाँ वितरण गरेकाले त्यसको श्वेतपत्र जारी गर्न माग गरेका छन् ।




