काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डले राज्यको शक्तिको दुरुपयोग गरेर पाटी फुटाएको बताएका छन् । राजनीतिक दलहरुबीच द्वन्द सिर्जना गराएर प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेको उल्लेख गरे ।
‘प्रधानमन्त्री प्रचण्डले शक्ति र सत्ताका लागि जे पनि गर्न आँफू तयार रहेको अभिव्यक्ति दिएपछि अध्यक्ष यादवले लोकतन्त्रलाई सिध्याउने अभ्यासमा प्रधानमन्त्री लागेको बताए । प्रधानमन्त्रीको सुझाव मानेर कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका व्यक्तिले पाटी विभाजन गरेको भन्दै उनले राज्यशक्तिको दुरुपयोग भएको बताए । उपेन्द्र यादव अमेरिका रहेका बेला अशोक राई, राजेन्द्र श्रेष्ठसहितका नेताहरुले अर्को पार्टी गठन गरेका थिए ।
नेपालमा संसदीय व्यवस्था नै असफल भइसकेको बताउँदै यादवले अहिले संसदमा सरकारले मार्सल लगाइरहेको बताए । जसपा मोरङ निर्वाचन क्षेत्र नम्बर ५ ले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्र माथि प्रहार गर्ने क्रममा सरकारले प्रेसमा हमला गरेको बताए । सहकारीको वचत रकम हिनामिना गरेको समाचार सार्वजनिक गरेका कारण सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको यादवको टिप्पणी रहेको छ ।




