कोशी प्रदेश

कोशीमा आन्दोलन पक्ष र सरकारबीच आज वार्ता

विराटनगर । कोशी प्रदेशमा आन्दोलन पक्ष र सरकारबीच वार्ता हुने भएको छ।

पहिचानसहित प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समिति र कोशी प्रदेश सरकारबीच आज (बिहिवार) वार्ता हुने भएको हो।

आज दिउसो ३ः३० मा विराटनगरस्थित विग होटलमा वार्ता हुने तयारी रहेको प्रदेश सरकारका वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जबेगुले जानकारी दिए।

कोशी प्रदेश सरकारले वार्तामा आउन आह्वान गर्दै औपचारिक पत्र पठाएको लामो समयपछि आन्दोलनरत पक्षले बुधबार संयुक्त संघर्ष समितिले वार्ता गर्ने निर्णय गरेको हो। पुनः नामाकरण संघर्ष समितिको बुधबार बसेको बैठकले वार्ता गर्ने निर्णय गरेको संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले जानकारी दिए।

‘हामीले बुधकार बैठक सम्पन्न गरेका हौँ, सरकारले वार्ताको लागि आह्वान गरेको छ’ उनले भने ‘आज वार्तामा बस्छांै त्यसअघि हामी सरकारलाई जवाफी पत्र पठाउँछौं।’

कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो।

वार्ता टोलीमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिवको रुपमा रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *