बागमती प्रदेश

गोरखा नगरपालिका निर्धारित समयमा नगर सभा गर्न असफल भएपछि मेयरलाई ध्यानाकर्षण पत्र

काठमाडौं । गोरखा नगरपालिकाले निर्धारित समयमा नगर सभा गर्न असफल भएपछि मेयरलाई नगरसभा गर्नका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । जिल्लाका एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना मगरले अहिलेसम्म नगरसभा गर्न असक्षम भएको भन्दै तत्काल नगरसभा गर्नुपर्ने मागसहित उपप्रमुख मसलीमायाँ थोकरसहित ४३ जना नगर सभा सदस्यहरुले मेयरको ध्यानाकर्षण गराएका छन् ।

निर्धातिर समयमा नगरसभा गरेर काम कारबाहीलाई अगाडी बढाउनुपर्ने उनीहरुको माग रहेको छ । मेयर रानाले हालसम्म नगर सभा आह्वान नगरेकोप्रति उपप्रमूख थोकरले असन्तुष्टि जनाउँदै मेयरले बहुमत कार्यपालिका सदस्यहरुको सहमतिलाई अस्वीकार गर्दा नगरसभा गर्न असगम भएको बताएकी छिन् । मेयरको सहकार्य र सहमतिमा जान नकसक्ने नेतृत्वशक्तिका कारण अहिलेसम्म नगरसभा हुन नसकेको उनको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४, दफा १९ तथा गण्डकी प्रदेशको स्थानीय तहको सभा सञ्चालनसम्बन्धी कार्यविधि (ऐन) २०७५ मा एउटा सभा सम्पन्न भएको मितिले ६ महिनाभित्र अर्को सभा गर्नुपर्ने प्रावधान छ । सोही अनुसार गत असारमा बर्षे अधिवेशन गरेको नगरपालिकाले पुस महिनामा नगर सभा अधिवेशन गर्नुपर्ने हो, तर अहिलेसम्म त्यो संभव भएको छैन् । उनीहरुले सोमबार नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले नगर सभाको बैठकबाट निर्णय गरी सम्पादन गर्नुपर्ने कामहरु सभा नभएकै कारण प्रभावित भएको बताएका छन् ।

सभा नभएकै कारण कार्यपालिका बैठकमा पेश गरिएका खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गठन लगायतका प्रस्तावहरु निर्णय नभएको बताउँदै उनीहरुले असन्तुष्टि पोखेका छन् । ‘भू–उपयोग क्षेत्र बर्गीकरण नभएकाले जग्गा खरिद बिक्री अवरुद्ध भई जनताको आयस्रोतमा असर परेको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नदिजन्य पदार्थ रहेको क्षेत्रहरुको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन हालसम्म स्वीकृत हुन नसक्दा उपयोग र बिक्री वितरणमा पनि प्रभाव परेको ।’

ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार नगरसभा नभएकै कारण पृथ्वी जयन्तीका दिन भएको खर्च भुक्तानी हुन नसकेको र कृषि र पशु विकासका कार्यक्रमहरु समेत कार्यान्वयन हुन नसकेको हो । तत्काल अधिवेशन गरी प्रभावित बनेका कार्यहरु सञ्चालन गर्न उनीहरुले माग गरेका छन् ।

समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने प्रशासकीय अधिकृतको भूमिका फरक रहेकाले असहज भएको समेत उनीहरुले बताएका छन् । नगरसभा सम्बन्धी एजेण्डामा नै प्रवेश नगरी कार्यपालिकाको बैठक अन्त्य भएकाले नगरसभा आह्वान गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

‘ उनका अनुसार गत पुस १७ गते आह्वान भएको कार्यपालिकाको बैठकमा २० भन्दा धेरै एजेण्डाहरु भएपनि तीनरचार वटा एजेण्डामा छलफल हुन नपाउँदै बैठक टुंगिएको थियो । नगरप्रमुख रानाले जति सक्दो चाँडो नगरसभा गर्नेमा आँफूले विश्वास लिएको बताएका छन् । कार्यपालिकाको बैठक हुन नसक्दा नगरसभा हुन नसकेको बताउँदै उनले कार्यपालिकाको बैठक गरेर नगरसभा गर्ने जानकारी दिए । उनले पौष मसान्तभित्र नगरसभा गर्नुपर्ने बाध्यता नभएको जिकिर समेत गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *