बागमती प्रदेश

मेयर बालेन शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने घोषणा गरेका छन् । आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएको मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

उनका अनुसार कार्यव्यवस्ताका कारण मेयर शाह राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न नजाने भएका हु्न् । गत वर्ष वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर बनेका शाहले राष्ट्रियसभा निर्वाचनमा पहिलो पटक नै मतदान घोषणा गरेका हुन् । तर काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल भने राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्नका लागि हेटौडा पुगेकी छिन् । उपमेयर डङ्गोल गत वर्ष बैशाखमा भएको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी हुन् । बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल प्रतिस्पर्धामा उर्तिएका छन् ।

एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपाङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा पठाएको छ । बागमती प्रदेशमा राप्रपाबाट अन्यतर्फ हेमजङ्ग गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी र अपाङ्गतर्फ भरतमणि भट्टको उम्मेदवारी छन् । यस्तै नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ सङ्गीता नेपाली, अपाङ्गतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ । बागमती प्रदेशमा ११० प्रदेशसभा सदस्य र २३७ पालिका प्रमुख–उपप्रमुख गरी ३४७ मतदाता छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *