काठमाडौं । महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको मंसिर २१ गतेको बैठकले अस्थायी घर टहरा निर्माणको दोस्रो चरण मंसिर २६ गतेदेखि पौष ६ गतेसम्म रहने जनाएको छ ।
दोस्रो चरणको भुमम्प प्रभावितका लागि अस्थायी टहरा निर्माणमा केन्द्रीय सदस्यको नेतृत्वमा घर टहरा निर्माण, समन्वय र सहजिकरणका लागि नयाँ टोली खटाइने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । दोस्रो चरणमा भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा अस्थायी टहरा निर्माण गर्नका लागि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल लोकतान्त्रिक खेलकुद संघका छुट्टाछुट्टै टोली खटिनेछन् भने लुम्बिनी प्रदेशका सवै जिल्लाहरू, कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा गण्डकी प्रदेशको बागलुङ जिल्लाको टोली समेत अस्थायी घर टहरा निर्माणमा खटिने जनाइएको छ । घर टहरा निर्माणमा खटिने सबै टोलीले मापदण्डको पूर्ण जानकारी लिई सोही अनुसार निःशुल्क रुपमा घर टहरा निर्माण कार्य सम्पन्न गर्नेछन् ।
भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट १००० अस्थायी घर टहरा निर्माण गर्ने प्रतिवद्धताका सन्दर्भमा पहिलो चरणमा कार्तिक २२ गतेदेखि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा जाजरकोट र रुकुम पश्चिम पुगेर सुरुवात गरेका थिए । नेपाली कांग्रेसले प्राकृतिक विपतिबाट आपतमा परेका जनताको उद्धार र अस्थायी टहरा निर्माणमा सहयोग गर्ने सबैलाई धन्यावाद अर्पण गरेको छ ।




