काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक कांग्रेसका निर्वाचित वडाध्यक्षहरूले बहिष्कार गरेका छन् । शुक्रबारका लागि निर्धारण गरिएको कार्यपालिकाको ८६ औं बैठक बहिष्कार कांग्रेसका निर्वाचित जनप्रतिनिधिहरुले गरेका हुन् ।
भरतपुर महानगपालिका बडा नं. ३ मा रहेको लायन्स क्लव अफ चित्रवनले अस्पताल चलाउने प्रयोजनका लागि लिएको जग्गामा बनेको भवन बालकुमारी कलेजले भोगचलन गरेपछि महानगरले हटाएको विषयलाई लिएर उनीहरूले बैठक बहिष्कार गरेका थिए । वडा नं. १० का वडाध्यक्ष परमेश्वर खनालले महानगर बैठकले सार्वजनिक जग्गामा बनेका संरचना सबै हटाउने निर्णय गरे पनि अन्यत्र नहटाएर बालकुमारी कलेजले उपयोग गरेको भवन मात्रै खाली गरेको आरोप लगाए ।
मेयरले मनपरि ढंगले २१ जना कार्यकर्ता भर्ती गरेको, भरतपुर भ्रमण वर्ष २०२४ को प्रचारप्रसारमा आफ्नो मात्रै गुणगान गाएकोले बैठक बहिष्कार गरिएको उनले बताए । नगरप्रमुखका प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीले भने कांग्रेसका वडाध्यक्षसहितको ८०औं बैठकले कलेजले गैरकानुनी रूपमा चलाएको भवन खाली गर्ने निर्णय गरेको भन्दै अहिले अनावश्यक ढंगले विवादमाको अवस्था सिर्जना गरेको बताएका छन् ।




