काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा पुगेका छन् ।
सिचुआन एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई गोंगार विमानस्थलमाई चिनियाँ टोलीले सांस्कृतिक झाँकीसहित स्वागत गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डलाई बुधबार साँझ चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् । साँझ वाङले आयोजना गरेको रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागि हुने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर एवं कैलाश पर्वत र ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालय भ्रमण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी)साउद, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वाला लगायतका प्रतिनिधिहरुको टोली रहेको छ ।




