काठमाडौं । तरुण दलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेको छ ।तरुण दलले खुकुरी प्रहार गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै प्रर्दशन गरेको हो । तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो ।
उक्त घटनाको विरोधमा कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो । तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ ।
तरुण दलको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो । आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । गृहमन्त्री नहटाउने भए आफैं हट्नुपर्ने प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डलाई गुरुङले दिए चेतावनी । कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका प्रकट गर्दै उनले यो सरकारलाई अब बोकेर हिँड्न नसक्ने बताए ।




