काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको भन्दै आपत्ति जनाएका छन्। अध्यक्ष लिङदेन साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुरामा उनले आपति जनाएका हुन् ।
संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व पाएपछि उक्त विषयलाई लिएर कोशी प्रदेशमा राप्रपाले सघाउने चर्चा बाहिर आएपछि राप्रपा अध्यक्ष लिङदेनले त्यो कसैलाई पनि सहयोग गर्ने निर्णयका रुपमा सहमति नभएको बताए । उनले कोशी प्रदेशमा राप्रपाले कुनै हालतमा पनि सहयोग नगर्ने दाबी गरे ।
सुरुको गठबन्धनताका नै राप्रपालाई कोशी प्रदेशको सभामुखको भाग परेकाले अब सभामुख र मन्त्री पाउनकै लागि हात जोड्नुपर्ने अवस्था नरहेको लिङदेनले बताए । अध्यक्ष लिङ्देनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको बताउँदै दिल्लीमा बनेको १२ बुँदे सहमति त्यसले देखाएको मार्गचित्र र अहिले पनि खासगरी बहुसंख्यक जनताको आस्थामा चोट पुग्नेगरी भइरहेको
क्रियाकलापमा सरकारी उदासिनता र धर्मनिरपेक्षताका दुष्परिणाम रहेको उनको भनाइ छ ।
अध्यक्ष लिङ्देनले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न हिन्दु, बुद्ध, किराँत लगायत सबै धर्मलाई समान सम्मानसहितको हिन्दुराष्ट्र देशको आवश्यकता रहेको उल्लेख गरे ।




