विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको र त्यसको जवाफ उपसभामुखले दिनुपर्ने बताएका छन् ।
प्रदेश सभाबाट थापाले विश्वासको मत पाएको घोषणा भएपछि सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तरमा सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सभाको अध्यक्षता गरिरहेका कांग्रेसका प्रदेश सभा सदस्य इस्राइल अन्सारीले पनि पक्षमा मतदान गरेका थिए ।
थापाले यो परिस्थिति उपसभामुखका कारण सिर्जना भएको प्रतिक्रिया दिए । कोशीमा हाल सभामुख नभएका कारण बैठक सञ्चालनको जिम्मेवारी उपसभामुख दनुवारको हो ।
थापाले भने, ‘उहाँ (इस्राइल अन्सारी) को मत दिने अधिकारलाई कुण्ठित गरेर सभामुख तोकेर उपसभामुख भाग्न मिल्छ ? यो परिस्थिति निर्माण गर्ने काम उपसभामुखले गर्नुभएको छ,उहाँले जिम्मेवारी लिनुपर्छ ।’
एमालेबाट निर्वाचित दनुवार सोमबार विहान स्वास्थ्यको कारण देखाउँदै काठमाडौं गएकी थिइन् ।




