राजनीति

ओखलढुंगा एमाले अधिवेशन: नेतृत्वमा महिला शून्य

ओखलढुंगा । एमालेको स्थानीय कमिटीको निर्वाचनअन्तर्गत पालिका अधिवेशन सकिएको छ । ओखलढुंगाका आठ पालिकामध्ये सातमा सहमति र एउटामा निर्वाचनमार्फत नेतृत्व चयन भएको हो ।

सहमतिमै सिद्धिचरण, चिशंखुगढी, मोलुङ, खिजीदेम्वा, लिखु, चम्पादेवी र मानेभञ्ज्याङमा पालिका कमिटीमा नेतृत्व चयन भएको छ । सुनकोसी गाउँपालिकामा भने अध्यक्ष र सचिव पदमा निर्वाचन भएको हो । अध्यक्षमा पञ्चबहादुर तामाङ र हितराज कार्कीबीच निर्वाचन भएको उपसचिव निशान श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुई जनाको दाबी परेपछि निर्वाचन गरिएको र निर्वाचनमा पालिकाका १० वटा वडा कमिटीका अध्यक्षहरूलाई मात्रै मतदान गर्न लगाइएको थियो । तामाङले १० मा ६ मत पाए ।

सचिवमा गिर्वराज थापा मगरले सात मत पाएर सचिव निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी झनक कार्की, अमृत वस्नेतलगायत थिए । एक जनाले मतदान नगरेको र दुई मत मात्रै आफ्नो विपक्षमा गएको निर्वाचित सचिव गिर्वराज थापा मगरले टेलिफोनमा बताए । एमालेको विधानमा भने वडाबाट छनाेट भएका पालिका प्रतिनिधिले मतदान गरेर पदाधिकारी र सदस्य छान्ने व्यवस्था छ । विधान मिचेर गरिएको निर्वाचनका माध्यमबाट अध्यक्ष चयन गरिएको भन्दै असन्तुष्टि बढेको छ ।

पालिका तहसम्म महिला नेतृत्व शून्य

एमाले अधिवेशनले वडादेखि पालिकासम्मका अध्यक्षमा महिला नेतृत्व छान्न सकेन । पालिका प्रतिनिधि छनाेटमै महिलाको संख्या अति न्यून थियो । पदाधिकारीहरूमा महिला अनिवार्य भनिएकाले उपाध्यक्ष वा उपसचिवमा भने महिला राखिएको छ । अध्यक्ष र सचिवमा महिला छैनन् । महिलालाई नेतृत्वमा स्थापित गर्न वडाबाटै एमाले चुकेको छ । ओखलढुंगाका अधिवेशन सकिएका ७५ मध्ये ६६ वडामा पुरुष मात्रै अध्यक्ष भएका छन् । बाँकी तहमा अधिवेशन भएको छैन । त्यस्तै पालिकाका आठै स्थानीय तहका कार्यकारी पदमा महिला छैनन् । महिलालाई कार्यकारी पदमा नल्याउनु दुखद भएको महिला नेतृहरूको गुनासो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *