राजनीति

बाग्मती र एक नम्बर प्रदेश सरकार परिवर्तन गर्ने माधवकुमार नेपालको घोषणा

कास्की । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नम्बर एक र बाग्मती सरकार ढालेर अर्को सरकार बनाउने घोषणा गरेका छन् ।

बाग्मती र एक नम्बर प्रदेशका मुख्यमन्त्रीहरुलाई केपी ओलीका प्यूसो भन्दै अध्यक्ष नेपालले उनीहरुलाई हटाएर नयाँ सरकार बनाउने बताएका हुन् । बाग्मती प्रदशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफु माधवकुमार नेपालको समेत सहयोगमा मुख्यमन्त्री बनेको दाबी गर्दै नेकपा एकिकृत समाजवादी पार्टीले समेत आफुलाई विश्वासको मत दिने दाबी गरेका बेला अध्यक्ष नेपालले भने उनलाई समेत हटाउने घोषणा गरेका हुन् ।

पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने,‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं ।’

अध्यक्ष नेपालले संघीय सरकारमा पनि एक साताभित्र सरकारमा सहभागी हुने बताए । उनले लुम्बिनी प्रदेश सरकारमा पनि आफ्नो दल सरकारमा सहभागी हुने तयारी भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *