भरतपुर । यतिखेर नेपाली काँग्रेसको १४ औं महाधिबेशनको प्रकृया निरन्तर अघि बढिरहेको छ । काँग्रेस चितवनका वडा तहका सबै निवार्चन सम्पन्न भइसकेका छन् । अब, नगर क्षेत्र र वडाको अधिवेशन क्रममा चितवनका काँग्रेसीको दौडधुप सम्झनालायक बनेको छ ।
मुलुक संघीयतामा गइसकेपछि पहिलो पटक कांग्रेसको महाधिवेशन हुन गइरहेको छ । जसअन्तर्गत ३ प्रतिनिधिसभा निर्वाचन समेटिएको चितवनमा सोही निवार्चन क्षेत्रका क र ख प्रदेशमा यसपटक प्रदेश निर्वाचन हुन लागेको छ । यस निवार्चन क्षेत्रमा काँग्रेसका विभिन्न नेता तथा कार्यकता मैदानमा देखिन्छन् ।
क्षेत्र ३ को (क) प्रदेशमा यसपटक उम्मेदवारका आकांक्षीहरुलाई महत्वका साथ हेरिएको छ । प्रदेश क कांग्रेसजनहरुको पकड निर्वाचन क्षेत्र पनि हो । प्रदेश (क) को सभापतिमा सूर्यहरि मरहठ्ठा, शालिकराम पौडेल र कमलनाथ पौडेलको त्रिपक्षीय भिडन्त हुने भएको छ । उम्मेदवारको आंकाक्षी मरहठ्ठा यसै क्षेत्रका नैविसंघका पूर्व अध्यक्ष र नैविसंघका पूर्व उपाध्यक्षमा रहेर काम गरिसकेकाले आफूले चुनाव जित्ने पक्का भएको बताउँछन् । उता शालिकराम पौडेल काग्रेस भरतपुर महानगरपालिकाका सह-सभापति हुन् भने साविक चित्रवन र गुञ्जनगरका पूर्वसभापति हुन् । त्यसैले उनी पनि आफूले चुनाव जित्ने दावी गर्छन् ।
त्यसो त क्षेत्र ३ का क्षेत्रीय सदस्यसमेत रहेका कमलनाथ पौडेल पनि आफू बलियो उम्मेदवार बताउँदै आएका छन् । तरुण दललगायतमा काम गरेका खेमनारायण सापकोटाले पनि प्रदेश (क) को सभापतिमा आफू उम्मेदवार हुने बताएका छन् । तर पनि असोज १२ गते गरिने भनेको प्रदेश निर्वाचनमा मरहठ्ठा र पौडेलद्वयबीच नै प्रतिस्पर्धा हुने कांग्रेसजनहरु बताउँछन् ।
विद्यार्थी राजनीतिदेखि नै कांग्रेस राजनीतिमा होमिएका मरहठ्ठा तर्कशील युवा नेताको रुपमा परिचित हुँदैछन् । हरेक राजनीति परिवेशमा उनले सामाजिक सञ्जाललगायत सञ्चार माध्यमा विचार राख्ने गरेकाले धेरै काँग्रेसीको मन जितेको बताइन्छ ।
त्यसो त पछिल्लो समयमा महिला अधिकारका क्षेत्रमा पनि उनी अग्रसर छ्न् । जसले गर्दा आम महिला मतदाताको बीच पनि उनी रोजाई बन्न सक्ने देखिन्छ । चितवन कांग्रेसमा विभिन्न धार ,गुट उपगुट देखिन्छ । यी धारहरु मध्ये आफू बलियो धारबाट उम्मेदवार रहेको मरहठ्ठा बताउँछन् ।




