काठमाडौं । कांग्रेस सांसद गगन थापाले एमालेले संसदीय व्यवस्थामा प्रतिपक्षी दलको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
एमाले सांसदहरुको नाराबाजीकै बिचमा सरकारले बजेट प्रतिस्थापन विधेयक पेश गरेपछि आक्रोशित बनेका एमाले सांसदहरुले सभामुखमाथि आक्रमणको प्रयास गरेका थिए । संसद भवनमा पत्रकारहरुसँगको कुराकानीमा सांसद थापाले एमालेले प्रतिपक्षी दलको भूमिकाको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।
उनले भने,‘हाम्रो संसदीय अभ्यासको क्रममा आज र बुधबारको बैठकमा जे भयो, यो सुखद् कुरा होइन, तर यसको कारण नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय व्यवस्थाभित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने, आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्दा यो स्थिती आएको छ ।’
सभामुख नमान्ने भन्दै संसद अवरोध गर्नु संसदीय मान्यताविपरित रहेको उनले बताए । उनले भने,‘कुनै विधेयकको विषयलाई लिएर सरकारको कुनै एउटा निश्चित निर्णयका विषयलाई लिएर हामी संसद अवरुद्ध गर्दछौं भन्ने अवस्था भएको भए ठिकै हुन्थ्यो तर सभामुख नै मान्दिनँ सांसद नै मान्दिनँ भनेर सदनमा अवरोध गर्नु संसदीय मान्यताविपरीत छ ।’




