राजनीति

कांग्रेस महाधिवेशन : ५४ जिल्लामा सकियो वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले ५४ वटा जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ । क्रियाशिल सदस्यता विवरण सार्वजनिक भएका ५७ जिल्लामध्ये ५४ जिल्लामा आजसम्म अधिवेशन सकिएको कांग्रेसले जानकारी दिएको छ ।

कांग्रेसले बनाएको निर्वाचन समितिका अनुसार ५४ जिल्लाका अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । समितिका अनुसार भदौ १८ गते ३५ जिल्ला, भदौ १९ गते दुई जिल्ला, भदौ २० गते एउटा जिल्ला, भदौ २१ गते ११ र २२ गते पाँच जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।

समितिका अनुसार भदौ २३ गते रुकुम पूर्व र रुकुम पश्चिममा अधिवेशन हुनेछ भने डडेल्धुरामा २५ गते अधिवेशन शुरु हुने बताइएको छ । त्यसबाहेक दोलखाको क्रियाशिल सदस्यता विवरण सोमबार सार्वजनिक भएपछि केही दिनमा अधिवेशन हुने समितिले जनाएको छ ।

क्रियाशिल सदस्यता विवरण सार्वजनिक हुन नसकेका २० वटा जिल्लामा भने अधिवेशन कहिले हुने टुंगिएको छैन । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने व्यवस्था छ ।

वडा अधिवेशनले एकजना वडा सभापति, दुईजना उपसभापति, दुई सचिव र दुई सहसचिव गरी सातजना पदाधिकारी निर्वाचित गर्ने विधानको व्यवस्था रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *