काठमाडौं । नेकपा एमालेले विभाजनको विपक्षमा उभिन देशभरका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अपिल गरेको छ ।
महासचिव इश्वर पोखरेलले आइतबार साँझ विज्ञप्ती जारी गर्दै एमालेबाट चोइटिएर बनेको अर्को दलमा नजान एमालेबाट निर्वाचित प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुलाई अपिल गरेका हुन् ।
सरकारले ल्याएको अध्यादेशलाई अलोकतान्त्रिक भन्दै महासचिव पोखरेलले अध्यादेशले एमालेको ठुलो विभाजन गर्न खोजेको आरोप समेत लगाएका छन् ।
उनले भनेका छन्,‘अलोकतान्त्रिक अध्यादेश ल्याएर नेकपा (एमाले) मा ठुलो विभाजन होस भन्ने कामनासाथ गरिएको हर्कत पूरा नभएपछि २१ दिनको समयावधिभित्र एमालेका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरूलाई नेकपा (एमाले) बाट चोइटिएर बनेको पार्टीमा लाग्नका लागि केही अन्य पार्टीका नेता कार्यकर्ताहरूले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता कृयाकलापहरू गरिरहेको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अन्य पार्टीको यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने छर्लङ्ग भएको छ ।’
एमाले विभाजनका लागि अन्य दलले धम्की दिएको आरोप लगाएका पोखरेलले प्रलोभन समेत देखाइएको आरोप लगाएका छन् । प्रदेश सांसदहरुसँगै जनप्रतिनिधिहरुले दल रोज्न भदौ २२ गतेसम्मको समउ समय निार्वचन आयोगले दिएको छ ।





