काठमाडौं । एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यहरुले नेकपा एमाले छाडेर नयाँ गठन भएको दल नेकपा एकिकृत समाजवादी पार्टी रोज्ने क्रम जारी छ ।
प्रदेशसभा सदस्यहरुले दल रोज्ने क्रम अन्तिम चरणमा पुगेको भएपनि स्थानीय जनप्रतिनिधि र जिल्ला जिल्लामा रहेका एमालेका नेताहरुले समेत दल रोज्ने क्रम जारी छ ।
एमाले उपाध्यक्ष भीम रावलको पकड मानिने सदुरपश्चिम र अछाम जिल्लाकै रावल पक्षका भनिने धेरै नेताहरुले एमाले छाडेका छन् । जुम्लामा एमाले जिल्ला कमिटिका झण्डै ७० प्रतिशत नेताहरु नै नयाँ गठन भएको दलमा आवद्ध भएका छन् । त्यस्तै संखुवासभाका अध्यक्ष सहित ३५ जना जिल्ला कमिटी सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेका छन् ।
शनिबार जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले एकीकृत समाजवादी रोजेका हुन् । नेकपा (एमाले) २६ सचिवालय सदस्यमध्ये १५ समाजवादीतिर लागेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेभित्र कुन दलमा जाने हो त्यही दलमा सनाखत गर्न समय दिएको छ ।




