काठमाडौं । नेपाली कांग्रेसले ३५ वटा जिल्लामा वडा अधिवेशन सकेको छ ।
५६ वटा जिल्लामा शुक्रबार महाधिवेशन शुरु हुने अपेक्षा गरिएको भएपनि महाधिवेशनको कार्यतालिकाअनुसार शुक्रबार ३५ वटा जिल्लामा मात्रै वडा अधिवेशन सम्पन्न भएको हो ।
देशभरका ५६ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भएर सार्वजनिक भएको भएपनि २१ वटा जिल्लामा भने २३ गतेभित्र वडा अधिवेशन हुने कांग्रेसले बनाएको निर्वाचन समितिले जानकारी दिएको छ ।
शुक्रबार प्रदेश नम्बर एकका ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । प्रदेश नम्बर दुईका कुनैपनि जिल्लामा महाविधेशको कार्यतालिकाअनुसार शुक्रबार वडा अधिवेशन शुरु हुन सकेन ।
निर्वाचन समितिका अनुसार बाग्मतीका दोलखा, सिन्धुली र भक्तपुर जिल्लामा मात्रै शुक्रबार वडा अधिवेशन सम्पन्न भएको छ । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की र म्याग्दी वडा अधिवेशन सम्पन्न हुँदा लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा अधिवेशन सम्पन्न भएको छ ।
कर्णाली प्रदेशका जुम्ला, हुम्ला, जाजरकोट र दैलेखमा वडा अधिवेशन सकिएको छ भने सुदूरपश्चिम प्रदेशका बझाङ, डोटी, अछाम र कञ्चनपुरमा मात्रै वडा अधिवेशन सकिएको छ । क्रियाशिल सदस्यता सार्वजनिक हुन बाँकी रहेका २१ वटा जिल्लामा समेत यसैमहिनाभित्र वडा अधिवेशन सक्ने कांग्रेसको तयारी छ ।
दोलखामा रहेका ७४ वडा मध्ये ७३ वडामा सर्वसम्मत अधिवेशन भएको छ । एक वडामा भने चुनाव भएको छ ।
मनाङमा वडादेखि जिल्ला अधिवेशनसम्म सर्वसम्मत भएको छ ।




