मुख्य समाचार

झलनाथ खनाललाई स्वागत गर्दै माधवकुमार नेपालले भने– केपी ओलीका कारण एमाले विभाजन

काठमाडौं । नेकपा एकिृकत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीका कारण एमाले विभाजन भएको दाबी गरेका छन् ।

भारतमा उपचारका लागि गएका नेता झलनाथ खनाललाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका अध्यक्ष नेपालले अध्यक्ष केपी ओली दक्षिणपन्थी भासमा परेको भन्दै त्यसविरुद्ध संघर्ष गर्न नयाँ दल गठन गरेको बताएका हुन् । उनले भने,‘अध्यक्ष केपी ओली चुर्लम्म दक्षिणपन्थी भासमा भासिए । सुधारको सम्भावना नदेखेपछि नयाँ ढंगले पार्टी बनाउनुपर्ने अबस्था आयो ।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको प्रवृत्तिमा सुधार नभएकोले नयाँ यात्रामा अघि बढेको बताए । उनले भने,‘कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्ने अभियानमा अघि बढेका छौं ।’ नेपालको कम्युनिष्ट आन्दोलन अनेकपटक समस्या देखिएको भन्दै उनले पुष्पलालले समेत विद्रोह गरेको बताए । अध्यक्ष नेपालले अहिले समेत पुष्पलालको जस्तै विद्रोह गरेको दाबी गरे ।

अध्यक्ष केपी शर्मा ओलीले कुर्ची बचाउन प्रतिनिधिसभा दुईपटकसम्म विघटन गरेको भन्दै कुर्ची बचाउन ओलीले नेकपाको समेत विभाजन गरेको आरोप लगाए । उनले भने,‘गुट र कुर्ची जोगाउन नेकपा विभाजन गर्नुभयो । वार्ताका अनेक नाटक रचियो । अनेक समयमा झुक्याउन चाल चाल्नुभयो । पार्टीका महत्वपुर्ण नेतालाई संसद र पार्टीबाट निश्कासन गर्ने काम गर्नुभयो । संविधान र लोकतन्त्र जोगाउनका लागि नयाँ शिराबाट अघि बढ्नुपर्ने भएकाले सबै क्षेत्रलाई गोलबन्द गरेर अहिले हामी नयाँ चरणमा पुगेका छौं ।’

निर्वाचन आयोगमा नेकपा एकिकृत समाजवादी पार्टी दर्ता भइसकेको र त्यसको प्रमाणपत्र लिइसकेको भन्दै अध्यक्ष नेपालले २२ गतेसम्म स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यहरु समेत दलमा आवद्ध हुने विश्वास व्यक्त गरे । उपचारका लागि झण्डै साढे २ महिनाअघि नेता खनाल भारत पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *