काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल समुहका नेताहरु सनाखतका लागि निर्वाचन आयोग जाँदैछन् ।
एमालेबाट विद्रोह गरेर नयाँ दल नेकपा एकिकृत समाजवादी पार्टी दर्ताका लागि गत बुधबार निर्वाचन आयोगमा निवेदन पेश गरेका नेता नेपाल समुहलाई आज आयोगले सनाखतका लागि उपस्थित हुन भनेको थियो । त्यसैअनुसार नेता नेपाल समुहका रहेका सबै आज आयोगमा उपस्थित हुन लागेका हुन् । आयोगले बिहान साढे ११ बजेदेखि २ बजेसम्म उपस्थित भएर सनाखत गर्न आह्वान गरेको थियो ।
पार्टीको अन्तरिम विधान, अन्तरिम नियमावली लगाएतका विषयमा छलफल गर्न भन्दै चन्द्रागिरीको एउटा होटलमा गत सोमबारदेखि रहेको नेता नेपाल समुहका केन्द्रीय सदस्य र सांसदहरुको टोली आजमात्रै फर्किएको हो ।
एमालेको तत्कालिन २ सय ३ सदस्यीय केन्द्रीय कमिटिबाट ५७ जनाले विद्रोह गरेर नयाँ दल दर्ता लागि आयोगमा निवेदन दिएका थिए । सनाखतपछि आयोगलै आजै दल दर्ताको प्रमाणपत्र दिने आंकलन गरिएको छ ।
प्रस्तावित नेकपा एकिकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल रहेका छन भने वरिष्ठ नेता झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । केन्द्रीय समिति ९५ सदस्यीय प्रस्ताव गरिएको छ ।
नेकपा एमालेले भने विभाजनमा नलाग्न आह्वान गर्दै पार्टीमा फर्केर काममा लाग्न अपिल गरेको छ । मंगलबार बसेको एमाले स्थायी कमिटिको बैठकले विधाजनकारी गतिबिधिमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो ।
आजै जसपाको महन्थ ठाकुर पक्ष समेत निर्वाचन आयोगमा सनाखतका लागि जाँदैछ । जसपा विभाजन गरेर लोकतान्त्रिक समाजावदी पार्टी दल दर्ताको निवेदन गत बुधबार पेश गरेको ठाकुर समुहले समेत आफ्नो समुहका रहेका सबै नेताहरुलाई निर्वाचन आयोगमा उपस्थित गराउन लागेको हो ।
निर्वाचन आयोगले संघीय संसद सचिवालयसँग एमाले र जसपाका सांसदहरुको अद्यावधिक विवरण मागेको थियो । सचिवालयले मंगलबार अपरान्ह अद्यावधिक विवरण आयोगलाई पठाइसकेको छ ।




