सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले रगतको अभावले अबदेखि सिन्धुपाल्चोकका सुत्केरी, बिरामी र घाइतेले ज्यान गुमाउने अवस्था अन्त्य भएको बताएका छन् ।
नेपाली कांग्रेस खेलकुद विभाग र लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको चौतारामा शुक्रबार आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले उक्त कुरा बताएका हुन् । रगत अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने प्रयास गरिएको बताए ।
सिन्धुपाल्चोकमा रगत राख्न रेफ्रिजेरेटर थिएन, बस्नेतको पहलमा कांग्रेसका शुभेच्छुकहरूले रक्तदाताले दान गरेको रगत राख्न चौतारा र बाह्रबिसेलाई रेफ्रिजेरेटर उपलब्ध गराइएका थिए ।

बिरामीको उपचारमा सहयोग पुगोस् भनेर कांग्रेसका १ सय २ जनाले रगत दान गरेका छन् ।
कांग्रेसका युवा नेताद्वय सुवास तिमल्सिना र उमेश प्रधानले बाह्रबिसे स्वास्थ्य चौकीलाई रेफ्रिजेरेटर उपलब्ध गराएका थिए । चौतारामा कांग्रेसका नेता एवम् व्यवसायी अमृत कार्कीले रेफ्रिजेरेटर सहयोग गरेका हुन् ।
नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतले भने, ‘सुत्केरी अथवा दुर्घटनामा परेका घाइतेले अब रगत अभाव भएकै कारण मृत्युवरण गर्नुपर्ने छैन भन्ने विश्वास लिएका छौँ । अब सिन्धुपाल्चोकमै रगत दिएर बिरामीको उपचार गर्न सकिन्छ ।’
‘अब रेफ्रिजेरेटरमा रगत राख्छौँ । सिन्धुपाल्चोकमा रगत बढी भयो भने भक्तपुर रेडक्रसलाई दिएर राख्छौँ । यहाँ चहियो भने भक्तपुरबाट ल्याउने कुरा भएको छ’, नेता बस्नेतले भने, ‘रगत नपाएर ज्यान जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’
नेता बस्नेतले सिन्धुपाल्चोकमा अक्सिजन सिलिण्डर चीनबाट सबैभन्दा पहिला कांग्रेसले ल्याएर कोरोना महामारीका बेला जनताको उपचारमा सहयोग गरेको स्मरण गरेका छन् । उनले १७ वटा उपचार केन्द्र खोलेर कोरोनाविरुद्धको उपचार भइरहेको उनले बताए ।
कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले बाढी पहिरोमा पनि सहयोग गरिरहेको भन्दै कांग्रेसले कोरोना र बाढीपहिरोका विरुद्धमा लड्ने बताएका छन् । उनले भने, ‘हाम्रा पार्टीका साथीहरू लाग्नुभएको छ । सबैको प्रयासले कोरोना र बाढीपहिरोको सामना गर्नेछौँ ।’
झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली सत्ता चलाउन असफल भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् ।
देउवा सरकारलाई साथ दिन नेता बस्नेतले सिन्धुपाल्चोकबाट स्वास्थ्यको क्षेत्रमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेर सहयोग गरेका छन् । देउवाको मिशन सफल पार्न सिन्धुपाल्चोकका खेलाडीहरूले रक्तादनमार्फत देशभरि सकरात्मक सन्देश दिएका छन् ।




