राजनीति

क्रियाशील सदस्यता छानबिन समिति सदस्यमाथिकाे आक्रमण निन्दनीय : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण भएको छ ।

छानबिन समितिको कार्यस्थल तीलगंगास्थित धर्म शालामा केन्द्रीय सदस्य घिमिरेमाथि कांग्रेसकै कार्यकर्ताहरुले हातपात गरेका हुन्। आफू निकटका क्रियाशील सदस्यलाई लिएर विवाद निकालेको आरोप लगाउँदै घिमिरेमाथि सिन्धुपाल्चोकबाट आएका कांग्रेस कार्यकर्ताहरु आक्रमणमा उत्रिएका बताइएकाे छ ।

उक्त आक्रमणमाथि कांग्रेसले निन्दा व्यक्त गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ – ‘क्रियाशिल सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन । महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको छ ।’

छोटो समय र कोभिड महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेको कृयाशिल सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको बिषयलाई कांग्रेसले प्रशंसासमेत गरेको छ । साथै सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य नहुने पनि विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *