राजनीति

प्रदेश २ को सरकारमा कांग्रेस र माओवादी सहभागी हुने

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर समूहका मन्त्रीलाई पदच्यूत गरेर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउने तयारी थालेका छन् । यसका लागि उनले पहिलो चरणको वार्ता भएको प्रदेश २ का नेपाली कांग्रेसका सचेतक उपेन्द्र कुशवाहले जानकारी दिए ।

मुख्यमन्त्री राउतले सोमबार बिहान सत्ता साझेदारीका लागि कांग्रेस र माओवादीसँग पहिलो चरणको वार्ता गरेका थिए भने आजै साँझ दोस्रो चरणको वार्ता गरेर मन्त्रालय भागवण्डा गर्ने तयारी रहेको बुझिएको छ ।

सोमबार बिहान जसपाको तर्फबाट ३ जना मन्त्री र कांग्रेसको ३ जना संसदबीच छलफल भएको थियो । सचेतक कुशवाहले भने, ‘सरकारमा सहभागी हुन मन्त्रालय टुक्राएर बढाउनेबारे प्राम्भिक छलफल भयो । दुवै पक्ष छलफलपछि संसदीय दलमा विमर्श गरेर आज साँझ पुनः दुवै पक्ष बसेर सरकारमा सहभागी हुने प्रक्रिया अगाडि बढ्ने छ ।’

बैठकमा प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग वन पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह र कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाह, सांसदहरु शिवचन्द्र चौधरी र वीरेन्द्र सिंहबीच फलफल भएको थियो ।

बैठकमा कांग्रेसले तत्कालीन राजपासँग भएको गठबन्धनकै मोडेलअनुसार ५० प्रतिशत मन्त्रालय माग गरेको छ । त्यसैगरी माओवादीलाई एक मन्त्री र एक राज्यमन्त्री दिने चर्चा छ । यद्यपी त्यसबारे टुंगो लागिसकोको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *