राजनीति

नेपाल-खनाल पक्षले पार्टी विभाजन गरेमा मेरो साथ हुनेछ: वामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले नेपाल पक्षले नयाँ पार्टी बनाएमा आफु सो पार्टीमा लाग्ने बताएका छन् ।

नेता गौतमका प्रेस सल्लाहकार विश्वमणि सुबेदीका अनुसार नेपाल पक्षले संसदको ४० प्रतिशत वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर गएमा आफु त्यो पार्टीमा सामेल हुने बताएका छन् ।

नेता गौतमको अहिलेको पछिल्लो धारणाका बारेमा सुबेदीले लेखेका छन् –

नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।

१. अध्यक्ष कमरेडसँगको कुराकानीबारे

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
यसको प्रतिउत्तरमा उपाध्यक्ष क.वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।

२. क.माधव नेपालहरुका सन्दर्भमा

वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *