काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
मुख्यमन्त्री पौडेलले आजका लागि ललितपुरको जावलाखेलमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई मात्र खबर गरिएको जनाइएको छ ।
पछिल्लो समय विकसित राजनितिक परिवर्तनपछिको अवस्था र प्रमुख प्रतिपक्षको अवरोधका कारण बारम्बार स्थगित भइरहेको प्रदेशसभा सञ्चालन, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणलगायतका विषयहरु छलफलको एजेण्डा तय भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक दाहालले जानकारी दिए ।
लामो समयको राजनैतिक उतारचढावपछि गत चैत २४ गतेबाट सञ्चालनमा आएको बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक विभिन्न विषयमा मुख्यमन्त्री पौडेलको उचित जवाफ माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएको छ ।
माओवादी केन्द्रको अवरोधका कारण बागमती प्रदेश सभा यसअघि ४ पटकसम्म अवरुद्ध भएको छ ।
माओवादी केन्द्रले नेपाली कांग्रेससहित अन्य प्रतिपक्षी दलहरुको समर्थनमा विद्युतीय बस खरिद प्रकृया, मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँ आर्थिक सहायता र सरकारले गठन गर्न लागेको निर्माण कम्पनी र सुरुङ मार्गको विषयमा मुख्यमन्त्री पौडेलको जवाफ माग गर्दै संसद अवरुद्ध पार्दै आएको छ ।




