काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपति कार्यालय अगाडि गरिरहेको अनसनमा नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले ऐक्यवद्धता जनाएका छन्।
बिहीबार जनता समाजवादी पार्टी निकट प्राध्यापक संघले गरेको कार्यक्रममा सहभागी भएर फर्किएका नेता नेपालले उपकुलपति कार्यालयबाहिर नेविसंघले गरेको रिले अनसनमा गई समर्थन जनाएर फर्किएका हुन् । अध्यक्ष नेपालले त्यहाँ नेविसंघले राखेको पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् ।
त्रिविमा पदाधिकारी नियुक्तिमा राजनीतिक नियुक्ति हुने गरेका छन् । नेविसंघले एक महिनादेखि उपकुलपति कार्यालयको ढोकैमा रिले अनसन गरिरहेको छ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड–१९ को कारणले लामो समयपछि भएको परीक्षा र त्रिविको नजिता प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने अवस्था भएकोले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्नेलगायत माग नेविसंघको छ।
त्रिविको क्यालेन्डर अनुसारको नयाँ भर्ना प्रक्रिया सुचारु गर्न पनि उनीहरूले माग राखेका छन्। यस्तै नेविसंघ त्रिवि समिति र त्रिविबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्नसमेत उनीहरूले माग गर्दै आएका छन्।




