भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिष्टहरु झरीको च्याउ भएको टिप्पर्णी गरे । बिहीबार चितवन भरतपुरमा लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस खेलकुद विभागका प्रमुखसमेत रहेका बस्नेतले भने, ‘संसारबाटै हराएको, बिलाएको र ओइलाएको कम्युनिष्ट यो देशमा झरीको च्याउ जस्तो फुरर्र उम्रेको छ ।
‘कम्युनिष्टहरुले जनताको मतको अनादर गरेर सरकार चलाउन सकेनन् । कांग्रेसलाई सरकार चलाउ भन्दै नेकपाका नेताहरुले घरदैलो धाइरहेको भन्दै नेता बस्नेतले “जसरी उर्मियो, त्यसरी नै सिद्धिए, लौ न अब कांग्रेस सरकार बनाइदेउ न भन्ने दिन आयो ।”

नेपाल तरुणदल तत्कालिन सभापति सहिद शिवप्रसाद पौडेल हत्याराको उन्मुक्ति, अराजकताको विरोध सभामा बोल्दै नेता बस्नेतले देशमा फेरि संवैधानिक संकट आउनसक्ने बताए । उनले भने, ‘फेरि प्रतिनिधिसभा भंग गर्ने खास संवैधानिक बाटोमा जान सक्छ । सत्तामा बसेर मात्तिएकाहरु कसरी जान्छन् वा देशको निकास कसरी सम्भव छ, “कांग्रेस गम्भीर हुन जरुरी छ ।” उनले भने, ‘अहिले कांग्रेस हचुवाका भरमा सरकारमा जाँदैन ।’
उनले एकल महिलाले न्याय खोज्दा हत्यारालाई लाहछाप लगाएर किन छाडेको भनेर गरे । नेपाल तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिवप्रसाद पौडेलको हत्यामा दोषी ठहर भई सजाय भोगिरेहका ३ जनालाई प्रजातन्त्र दिवसको अवसर पारेर आममाफी दिएपछि चर्को विरोध भैरहेको छ । “हत्या गर्नेलाई फेरी कानुनी कठघरामा ल्याउनुपर्छ”, उनले भने । “सांकेतिक आक्रोश राखेका छौँ, देशव्यापी कालो झण्डा युवा सडकमा आउनेछन ।” कम्युनिष्टको सरकार भएकै बेला जेलभित्रै हत्या गर्ने व्यक्तिहरुलाई कम्युनिष्ट सरकारलेनै उन्मुक्ति दिएको आरोप नेता बस्नेतको थियो ।
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले हत्या गर्ने व्यक्तिलाई पर्व उत्सवको अवसर पारे छुटकारा दिने काम रोकिनुपर्ने बताए । “सिद्धियो कांग्रेस भन्नेहरु किस्तिमै राखेर प्रधानमन्त्री बन्न कांग्रेसलाइ आग्रह गर्दैछन्”, उनले भने, “पुनःस्थापित संसदमा हत्यामा संलग्नलाई आममाफी दिएकाबारे संसदमै आवाज उठाएर विरोध गर्नेछन्।”

पूर्वराज्यमन्त्री शेषनाथ अधिकारीले सर्वश्वसहित जन्मकैद पाएका व्यक्तिलार्इ आधा पनि सजाय नभोग्दै सरकारले सत्ताको दुरुपयोग गरेर आममाफी दिएको आरोप लगाए । बागमती प्रदेशका सांसद मिलनबाबु श्रेष्ठले हत्याको सजाय भोगिरहेका व्यक्तिलाई सरकारले छुटकारा दिएर बदमासी गरेको बताए ।
लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचेनले हत्यारालार्इ आममाफी गरेर ओली सरकारले न्यायमाथि नै प्रहार गरेको बताए । कांग्रेस नेतृ तथा सहिद धर्मपत्नी विनु रायमाझी पौडेलले जेलभित्रै षड्यन्त्र पुर्वक निर्मम आक्रमण गरि हत्या गर्नेलाइ फेरी जेलमा थुनामा राख्न माग गरिन् । “जेल जीवन भोगिरहेकालाइ कैद मिनाह गरेर राज्यले ठूलो गल्ती गरेको छ, उनले भनिन्, ‘महिलाहरुको आँशुको बलिन्धरा बगाउने वातावरणको अन्त्य होस ।”
कार्यक्रममा क्रिकेट संघ बागमती प्रदेशका कोषाध्यक्ष तथा क्रिकेटका प्रशिक्षक अनिल अधिकारीलाई सम्मान गरिएको छ । रक्तदान कार्यक्रममा १० महिलासहित ५१ जनाले रक्तदान गरेका थिए । संघका केन्द्रीय सदस्य वचन कार्कीले स्वागत मन्तव्य राखेका थिए भने केन्द्रीय महासचिव सुवोध प्रधानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।





