राजनीति

विप्लवसहित चार दलको रणनैतिक मोर्चाद्वारा आन्दोलन घोषणा

काठमाडौ । सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने मोर्चाले जनाएको छ । मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् । कार्यक्रमामा मोर्चाको अवधारणा पनि सार्वजनिक गरिएको छ ।

रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् । पछि तीन जना थपिने नेताहरुले बताएका छन् । मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ । साथै प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरुमा समेत समिति गठन गरिने छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको बिघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका छन । बिहिबार चार कम्युनिष्ट पार्टीहरुको रणनैतिक संयुक्त मोर्चा घोषणा कार्यक्रममा महासचिव वैद्यले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताए । सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उनको भनाई थियो ।

बिहिबार मोहन वैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य, संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य राखेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव वैद्यले बताए ।

महासचिव वैदले मोर्चाले क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबद्ध गरी पार्टी एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने र जनजिविकाको समस्या समाधान गर्न निरन्तर संघर्ष गर्ने बताए । संयुक्त मोर्चाले पहिलो चरणको आन्दोलन पनि घोषणा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *