राजनीति

सभामुख सापकोटा पुगे सर्वोच्च अदालत, संवैधानिक अंगमा भएका नियुक्तिविरुद्ध रिट हाल्दै

काठमाडौं । संवैधानिक अंगमा पदाधिकारी नियुक्तविरुद्ध रिट हाल्न सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार बिहान उनी आफैं रिट लिएर सर्वोच्च पुगेका हुन् ।

सापकोटासँगै विघटित प्रतिनिधि सभाका सांसद शशी श्रेष्ठ र रामकुमारी झाँक्री पनि सर्वोच्च पुगेका छन्। संवैधानिक अंगमा संविधानविपरीत सरकारले गरेका नियुक्ति बदर र काममा रोक लगाउन भनी सापकोटाले रिट निवेदनमा उल्लेख गरेका छन् ।

सभामुख सापकोटाले संसद् नभएको अवस्थानमा सुनुवाइ गर्ने समिति नभएको भन्दै संवैधानिक परिषदका सिफारिस फिर्ता पठाएका थिए। सो विषयबारे सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने संकेत पाएपछि सरकारले हतार हतार ३२ पदाधिकारीलाई सपथ खुवाएको थियो ।

संसदीय सुनुवाइ समितिले ४५ दिनभित्र सुनुवाइ नगरे कानुनी रुपमा नियुक्ति गर्न बाधा पर्ने छैन भन्ने संविधानमा उल्लेख छ । तर, सभामुख सापकोटाले संसद् नै नरहेकाले त्यस्तो नियुक्तिको सुनुवाइ हुन नसक्ने भन्दै पत्र फिर्ता पठाइदिएका थिए ।

तर, प्रधानमन्त्री केपी ओलीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकाय अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्त गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *