काठमाडौं । सत्तारुढ नेकपाको दुई समूहबीच अहिले घोचपेच जारी छ । ओली नेकपा र प्रचण्ड नेकपाका नेताहरूबीच आरोप प्रत्यारोप, घोचपेच, गालीगलौज सार्वजनिक सभा समारोहमा भइरहेको छ ।
शनिबार मात्र प्रधानमन्त्री केपी ओलीले आफूले जनतालाई हँसाएको तर १७ हजारको हत्या गर्ने प्रचण्डलाई नपचेको भन्दै कटाक्ष गरेका थिए । उनले आफू पनि मान्छे मार्दै, जनतालाई रुवाउँदै हिँडौं भनेर प्रश्न गरेका थिए ।
ओलीले हिजो सोधेको प्रश्नको प्रचण्डले आइतबार जवाफ दिएका छन् । बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा आयोजित युवा संघको पूर्ण बैठकमा प्रचण्डले ओलीलाई लक्षित गर्दै भने, ‘हामी जन्ती जाँदा रुने र मलामी जाँदा हाँस्ने होइनौं । संविधान र संसदको हत्या हुँदा हामी हाँस्न सकेनौं । जति कमेडी गर्नु हुन्छ गर्नुहोस् ।’
प्रचण्डले पटक पटक अनुशासन उल्लंघन गरेकाले ओलीलाई स्पष्टीकरण सोधेको, महासचिव विष्णु पौडेललाई कारबाही गरेको बताए । उनले ओलीमाथि मेजर अप्रेसन चल्दै गरेको पनि बताए ।




