काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई खण्डित गर्ने र अनुचित अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको टिप्पणी गरे ।
उनले प्रतिनिधिसभा लगातार पाँच वर्ष चल्ने तथा देश, जनता, संविधान र लोकतन्त्रको रक्षामा जाने सोचिएको भए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गर्ने र छ/छ महिनामा सरकार फेर बदल्ने मनशायले राजनीतिक अस्थिरता उत्पन्न गर्ने काम भएको बताए । अलिकति समयअघि नै प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनका लागि जनादेशमा जाने निर्णय गरिएको बताउँदै उनले अब देश निर्वाचनोन्मुख भएको उल्लेख गरे । यही पुस १७ गतेदेखि शुरु भएको हिउँदै अधिवेशनको बैठकमा प्रधानमन्त्री ओलीले भने, “जनताको इच्छा पाँच वर्ष सरकार टिकोस् भन्ने थियो । सरकार सञ्चालन गर्ने दलभित्रै चरम अस्वस्थताको अवस्था आयो । सरकारका प्रस्ताव निर्णयार्थ पेश पनि नगरिदिने प्रयास भयो । ”
आफूले भारतसँगको सम्बन्धमा पनि मित्रवत् रुपमा व्यापक छलफल गरी आपसी विवाद समाधान गर्न उल्लेख्य पहल गरेको उनले स्पष्ट पारे । “सन् १९२८ देखि शारदा नहरमा भारतमा पानी गइरहेको हाम्रो भूमि बाँझै छ, तर बोल्न नसक्ने अनि आफूले त्यस विषयमा बोल्दा तपाईँका पालामा मात्र भारतसँगको सम्बन्धमा धेरै बहस किन हुन्छ भन्ने रु” उनले प्रश्न गरे ।
कतिपयले नेपालकै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्शा बनाउँदा सम्बन्ध बिग्रिन्छ भनेको तर सरकारले नेपालको नयाँ नक्शामा उक्त भूमि समेटेर संविधानको अङ्गसमेत बनाएको बताउँदै उनले भने, “अब मित्रताका आधारमा भारतसँग छलफल हुँदैछ । नेपाली भूमि फिर्ता भएरै छाड्छ ।” संसद्को सातौँ अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि संविधान जारी गरेवापत गरिएको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको र चीनसँग यातायात र पारवाहन सम्झौता गरी नेपाललाई भूजडित बनाएको स्मरण गराए । यसअघि पनि आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेपछि त्यसबाट आत्तिएर सरकार ढलाउने काम भएको उनको भनाइ थियो ।




