काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध माघ २३ गते काठमाडौंमा विशाल आमसभा आयोजना गर्दैछ । उक्त आमसभामा काठमाडौंमा एक लाख मानिस उतार्ने तयारी भएको नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ बताए ।
उनले संसद विघटन ‘गैरसंवैधानिक, गैरलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी प्रतिगामी कदम’ भएको दावी गर्दै सो विरुद्ध काठमाडौंमा कम्तीमा १ लाख मान्छे उतार्ने बताएका हुन् ।
प्रवक्ता श्रेष्ठले सम्पर्क कमिटीहरुलाई तयारी गर्न निर्देशन पनि दिए । शनिबार नेकपा सम्पर्क मञ्च समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले संसद विघटन सिंगो राजनीतिक प्रणालीमाथिको आक्रमण समेत भएको बताए ।




