इटहरी । राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यको माग गर्दै सुनसरीको इटहरीमा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीले संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरी संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको माग गरेका छन् ।
पूर्वाञ्चलवासीको तर्फबाट सुनसरीको इटहरीदेखि मोरङको विराटनगरसम्म कार तथा मोटरसाइकल र्याली आयोजना गरिएको हो । सहभागीहरुले संघीय गणतन्त्रात्मक व्यवस्थाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको भन्दै संघियता खारेज गर्नुपर्ने माग पनि गरेका छन् ।
उनीहरुले नेपाललाई संवैधानिक राजसंस्था सहित हिन्दु राष्ट बनाउनुपर्ने माग पनि गरे । र्यालीमा सहभागीहरुले राजसंस्था र हिन्दू राज्यका पक्षमा नाराबाजी समेत गरेका थिए ।
प्रदर्शनमा युवा, वृद्धवृद्धादेखि सर्वसाधारणको समेत सहभागिता थियो । राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी र हिन्दू राष्ट्र घोषणाको माग गर्दै पछिल्लो समय देशभर प्रदर्शन हुँदै आएका छन् ।




