काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सल्लाहकार परिषदका सदस्य स्वनाम साथी (शशी शेरचन) को निधन प्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ ।
स्वनामको शुक्रवार राति ९ः३० बजे काठमाडौंको मोडल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
स्वनामको निधनले दुखित् तुल्याएको भन्दै अध्यक्ष प्रचण्डले भनेका छन, “कमरेड स्वनामको आदर्शपूर्ण पक्ष नै आन्दोलन प्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली थियो । उहाँका यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन् । हाम्रो पार्टी कमरेड स्वनाम साथीप्रति क्रान्तिकारी अभिवादन सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।”
२००७ साल श्रावण १७ गते म्याग्दी जिल्लाको दर्वाङ–२ हाल मालिका गाउँपालिका रातो ढुंगामा संभ्रान्त परिवारमा जन्मिए पनि स्वनामले विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मुक्ति लागि सम्पूर्ण जीवन अर्पण गर्नुभएको अध्यक्ष प्रचण्डले श्रद्धाञ्जी ब्यक्त गर्ने क्रममा स्मरण गरेका छन ।
स्वनामले २०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । २०३३ सालमा उनकै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लीग गठन भएको थियो ।
२०३८ सालमा सर्वहारा श्रमिक संगठन नेपाल निर्माण गरी उनले किसान आन्दोलन चलाएका थिए ।




