काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई घेराबन्दीमा पारेर काम गर्न नदिएको बताएका छन् । पार्टी संसदीय दलको नेता र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर काममा रोकावट गरिएपछि आफूले ताजा जनादेश लिन प्रतिनिधिसभा विघटन गर्नुपरेको उल्लेख गरेका छन् ।
सोमबार दिउँसो देशवासीको नाममा सम्बोधन गर्दै ओलीले भने, ‘दुई अध्यक्षबीच पार्टी र सरकारको बेग्लाबेग्लै जिम्मेवारी बाँडियो, तर मैले सरकारको काम इमान्दारीपूर्वक पूरा गर्न खोज्दा विभिन्न व्यवधान खडा गरियो ।’ सरकारलाई पाँच वर्ष काम गर्न नदिने षड्यन्त्र गरिएको उनको आरोप छ ।
प्रधानमन्त्री ओलीले अधिकांश समय पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य नेताविरुद्ध खर्चिए । आफूले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न चाहे पनि आफूलाई नदिएको उनको भनाइ छ । सरकारलाई जनताको भावनाअनुसार काम गर्न नदिने र संसद्लाई बन्धक बनाएकाले पनि आफूले सार्वभौम जनतासामु ताजा जनादेशका लागि गएको ओलीले बताएका छन् ।
प्रधानमन्त्री बन्न चाहेकालाई र प्रतिपक्षीलाई पनि आफ्नो एजेन्डा लिएर जनतासामु जान आग्रह गरेका छन् । बहुमत प्राप्त दलका नेतालाई काम गर्न नदिएपछि आफू जनतासामु जानु परेको उनले बताएका छन् । ‘विपक्षी दललार्इ पनि उछिनेर बढी विरोध आफ्नै पार्टीका केही नेताबाट भयो, पार्टीको लेटरप्याड दुरुपयोग गरेर मेरो राजनीक चारित्रिक भविष्य सिध्याउने प्रयास अर्का अध्यक्षले गर्नुभयो,’ ओलीले भने ।




