राजनीति

खुमलटार जाँदा बुर्लुक्क उफ्रँदै पुच्छर भए भन्नेहरु अब चुप लाग्छन् कि ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुको आज शनिबारीय दौडधुपले राजनीतिक वृत्तमा राम्रै चर्चा पायो । नेकपाका अधिकांश नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्षलाई भेट्न खुमलटार पुग्नुलाई सकारात्मक भनेका छन् ।

सहमति खोज्नु राम्रो कुरा हो, सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ ।

तर, नेकपाका नेता भीम रावलले भने खुमलटारमा ओली पुग्नुलाई व्याङ्यात्मक टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भने, ‘शनिबार बिहान प्रधानमन्त्री केपी ओली, प्रचण्डजीसँग कुरा गर्न खुलमटार जानुभएछ । वामदेवजीको उपस्थितिमा मिलौं भन्नुभएछ । हामी खुमलटार जाँदा बुर्लुक्क उफ्रँदै पुच्छर भए भन्नेहरु अब चुप लाग्छन् कि’ भन्दै प्रश्न गरेका छन् ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालका नजिक मानिने रावलले पार्टीमा नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो कुरा भएको भन्दै सहमति नभए विधिबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

रावल तिनै नेता हुन्, जसले नेकपाका ८३ सांसदको हस्ताक्षर बोकेर संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा निवेदन लिएर गएका थिए । भलै उनको निवेदन राष्ट्रपति कार्यालयले दर्ता गरिदिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *