काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । मंसिर १३ गतेको सचिवालय बैठकले १६ गते पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो ।
धुम्बाराहीमा सुरक्षाको कारण देखाउँदै सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री केपी ओली झन्डै एक वर्षदेखि पार्टीको मुख्यालय धुम्बाराही गएका छैनन् । त्यसैले मंगलबारको बैठकमा उनी उपस्थित हुनेमा आशंका व्यक्त गरिएको थियो ।
आजको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुने एजेन्डा छ । ओली आजकै बैठकबाट दुवै अध्यक्षको प्रस्ताव फिर्ता हुनुपर्ने अडानमा रहेको बताइएको छ । तर, प्रचण्ड माधवकुमार नेपाल भने दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा लगेर छलफल गरी टुंगो लगाउनुपर्ने पक्षमा छन् ।




