काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोले गर्दा अहिलेको शासन प्रणालीबारे जनता भ्रमित हुन थालेको नेपाली कांग्रेसले बताएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि नै जनताले आशंका गरिरहेको कांग्रेसको भनाइ छ । निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरणले महतले बताए ।
सहमहामन्त्री डा.महतले प्रणालीमाथि नै धावा बोलेर धमिलो पानीमा खेल्न खोजे पनि देश त्यो बाटोमा जान नसक्ने बताए । उनले भने, ‘प्रणालीको कुरा होइन् । निर्वाचित भएर आएकाहरुले जनतामाथि विश्वासघात गरेकाले जनतामाशासन प्रणाली नै नराम्रो हो कि भन्ने परेको छ, तर त्यो होइन् । जनताले निर्वाचनमा अर्को विकल्प खोज्ने हो । सरकारले रहँदासम्म सरकारलाई सच्चिनका लागि बाध्य पार्न सबैले आवाज बुलन्द गर्नुपर्छ । प्रणालीमाथि आक्रमण गरेर धमिलो पानीमा खेल्न खोज्दैछन् । त्यो बाटोमा देश जान सक्दैन् ।’
उनले सरकार संवेदनशील नबनेका कारण महामारी नियन्त्रण बाहिर गएको समेत बताए । महामारी विरुद्धको लडाइँमा सरकारले सुरुवाती दिनदेखि आइसोलेसन निर्माण÷व्यवस्थापन, क्वारेन्टिन व्यवस्थापन अस्पतालहरुमा बेडको व्यवस्था गरी अगाडि बढ्नुपर्नेमा त्यसो गर्न नसकेको उनले बताए ।
सहमहामन्त्री डा. महतले जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको बताए । संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकारप्रति जनताको विश्वास टुट्दै गएको पनि उनले बताए । सरकार महामारीबाट जनतालाई कसरी जोगाउने भन्दा पनि औषधि खरिद र राहत वितरणमा समेत कसरी फाइदा उठाउने भन्ने अभियानमा रहेको बताए ।
उनले भने, ‘‘नेकपाको झगडाले जनतालाई ठूलो असर परेको छ । यो सरकार निर्वाचित भएर आएदेखि नै आन्तरिक सत्ता संघर्षमा नेताहरु देखिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली जसरी भए पनि सत्ता टिकाउने र उहाँको ठाउँमा जान चाहाने नेताहरुले त्यो पुग्न गरिरहेको लडाईले नेपाली जनता मारमा परेका छन् ।’’




