कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य मान्यताहरुलाई थप संस्थागत गर्नुको सट्टा भत्काउने काम गरेको भन्दै राष्ट्रिय एकताका लागि सबै प्रजातान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने समय आएको बताउनुभएको छ ।
नेपाली काँग्रेसका सांसद सूर्यबहादुर केसीको स्मृतिमा आज पोखरामा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै सहमहामन्त्री डा.महतले वर्तमान सरकारकै कारण देशमा अहिले अराजकता, कुशासन र बेइमानी बढेको स्पष्ट रुपमा सबैले देखेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो– कम्युनिष्ट सरकारको जवाफदेहिताको अभाव र बेवास्ताका कारण देश यतिखेर अत्यन्तै कठिन मोडमा पुगेको छ, यस्तो बेलामा प्रजान्त्रिक मूल्य र मान्यतालाई जोगाइ राख्न नेपाली काँग्रेस र यसको नेतृत्वमा देशका समग्र प्रजातान्त्रिक शक्तिहरु नै एकजुट हुनु आवश्यक छ ।
उहाँले यस्तो महामारीमा परेर जनता छटपटाइरहेका बेला पनि सरकार जिम्मेवार बन्न नसक्नु अत्यन्तै दुःखद हो भन्नुभयो । उहाँले भन्नुभयो– नागरिक उपचार नपाएर छटपटाएका छन् यस्तो अवस्थामा सरकार भने जनताको स्वास्थ्य अधिकार खोसेर आफ्नो उपचार आफै गर्ने भन्नेसम्मको गैरजिम्मेवार रुपमा प्रस्तुत भयो, नागरिकका लागि यो भन्दा दुखको कुरा अरु हुन सक्दैन ।
महामारी र आर्थिक क्षतिका कारण आहात भएका नागरिकलाई राहत दिनुको सट्टा सरकार भने पद र पैसाका लागि लाजमर्दा रुपमा आपसी झगडामा व्यस्त भएको देखिएको उहाँको टिप्पणी थियो ।
सहमहामन्त्री डा.महतले सूर्य बहादुर केसीले नेपाली काँग्रेसको एक सांसदका रुपमा नेपालमा प्रजातान्त्रिक प्रक्रियामा सघाएको भन्दै स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो– देशको विकास र समाजको समृद्धिमा केसीजी जस्ता देशका लगानीकर्ताहरुको ठूलो योगदान रहेको छ भन्दै उहाँको यो उद्यमशिलताको असल र सफल विरासतलाई निरन्तरता दिन उहाँका परिवार र छोराहरुलाई आग्रह पनि गर्नुभयो ।
स्वर्गीय केसीको १३ दिनको पुण्य तिथिमा नेपाली काँग्रेस कास्कीद्धारा आयोजना गरिएको सो श्रद्धाञ्जलि सभामा बोल्दै कास्की काँग्रेसका नेताहरुले स्वर्गीय केसी प्रजातान्त्रिक संस्कार भएको नेता हुनुहुन्थ्यो भन्दै उहाँको निधनले नेपाली काँग्रेसलाई ठूलो क्षति पुगेको बताउनुभएको थियो ।




