काठमाडौं । शुक्रबार नेकपाको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर गृहमन्त्री रामबहादुर थापा वादल खुमलटार पुगेका छन् । नेकपा उच्च स्रोतका अनुसार सचिवालय बैठक सकिएपछि ओलीले वादलसहित ६ जना सचिवालय सदस्यसँग छुट्टै छलफल गरेपछि वादल खुमलटार पुगेको स्रोतको दावी छ ।
बहुमत सदस्यहरूको धुम्बाराहीमा भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमति लिएर गत बिहीबार सचिवालयको औपचारिक बैठक बोलाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले शुक्रबारका लागि सचिवालय बैठक बोलाएका थिए । गत मंगलबार धुम्बाराहीमा बैठक बस्नुअघि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेर विहिबार बैठक बोलाउन सहमति मागे तर, ओलीले दुई अध्यक्षबीच सहमति नभई बैठक बस्नु उपयुक्त नहुने भन्ने जवाफ दिएपछि प्रचण्डले धुम्बाराहीमा आएर आफ्ना समूहसँग ओलीले बैठक राख्न नामानेको ब्रिफिङ गरेका थिए । तर यसअघि बुधबार पूर्व माओवादी समूहका तर्फबाट गृहमन्त्रालय सम्हालीरहेका रामबहादुर थापा एक्लै खुमलटार पुगेर ओलीसँगै सहकार्य गरेर जान सुझाव दिए ।
एक हप्ताको फरकमा खुमलटार पुग्ने गरेका वादलले माधव नेपाल वा अन्य नेताहरुसँग मिलेर जाँदा तत्कालै खास उपलब्धी नहुने र त्यसले पूर्व माओवादी समूहलाई हानी मात्रै हुने भएकाले तत्काल ओलीसँगै मिलेर जान सुझाव दिएका थिए । ‘वादलजी बुधबार र शुक्रबार प्रचण्डकोमा पुग्नु भएको रहेछ उहाँले तत्काल ओलीसँग मिलेर जाँदा नै राम्रो हुने सुझाव दिनु भएको हो’, खुमलटार निकट एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार वादलले गत भदौ २६ गते स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन गराउनका लागि ओलीलाई आफूले पनि दबाब दिने र सचिवालय बैठक राखेर समस्या समाधान गर्न लगाउने तर्फ आफू अग्रसर हुने बताएका थिए ।
प्रचण्डले अहिले पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठलाई मात्रै बोकेको वादल समूहलाई मन नपरिरहेका बेला उनले दुई अध्यक्ष मिलाउने कोसिस गरिरहेका स्रोतको दावी छ । विहिबार सचिवालय बैठक बस्ने वा नबस्ने एकिन नभएकाले पनि बुधबार वादलले प्रचण्डलाई भेटगरी ओलीसँग मिलेर जान सुझाव दिएका थिए भने शुक्रबार सचिवालय बैठकमा प्रचण्डले छुट्टै राजनीतिक दस्तावेज प्रस्तुत गरेपछि पनि खुमलटार पुगेर प्रचण्डलाई मनाउने प्रयास गरेका थिए । ‘श्रेष्ठले दिग्भ्रमित हुने गरी सचिवालयमा कुरा राख्ने गरेको तथा एकातर्फी रुपमा आफ्ना कुरा गरेर सचिवालय बैठक बोलाउन पहल गरिहेको र त्यसका लागि लिखित पत्र तयार पारेको भन्दै बढी नै मिडियाबाजी गरेका कारण पूर्व माओवादीभित्र उनलाई रुचाइएको छैन’, स्रोतले भन्यो ‘यो विषय वादललाई पनि मन परेको छैन त्यसकारण यो विषयमा प्रचण्डलाई भेटेर वादलले श्रेष्ठको समूह सधै लाभमा रहेको त्यसले जनयुद्ध लडेका नेता कार्यकर्ता अन्यायमा परेको आवाज उठाउदै आएका छन् ।’
स्रोतका अनुसार बुधबारको भेटमा ओलीसँगै सहकार्य गर्दा पूर्व माओवादीलाई फाइदा हुने र श्रेष्ठले उठाउदै आएको विधि भनेको उनकै सीमित समूहलाई लक्षित गरेर उठाइएकाले पूर्व माओवादी समूहलाई झन घाटा हुने हो भन्दै प्रचण्डलाई सम्झाएका थिए । वादलले भने अहिलेको आवश्यकता भनेको माधव नेपालसँग मिल्नुभन्दा ओलीसँगै मिल्न सुझाव दिएका थिए ।




