मुख्य समाचार

पार्टीको निर्णय स्वीकार गरे समस्या हुन्नःनेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताएका छन् । उनले पार्टीको विधि र पद्धति स्वीकार गरे कोही कसैलाई पनि अप्ठ्यरो नपर्नै भएकाले पार्टीभित्र देखिएको समस्या समाधान हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफै हुने बताएका हुन् । त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखि छलफल, बहस र वादविवाद गर्नुपर्ने उनको भनाइ छ । बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने पनि नेता नेपालले बताए । ‘पार्टी कमिटी नै एउटा ठाउँ हो जहाँ सबै खालका कुराहरू आउँछन, आउनुपर्छ। छलफल, बहसबाट नै उपाय खोज्नुपर्छ।

किनभने हामीले आन्दोलनलाई र यो पार्टीलाई एकतावद्ध भएर अगाडी बढाउनुपछ’, नेता नेपालले भने । उनका अनुसार सबै अनुशासनमा बाधिने भएकाले आफ्नो आफ्नो ठाउँमा सशक्त र प्रभावकारी भूमिका खेल्ने हो भने, भएका कमी कमजोरीलाई सुधार्ने हो भने यो आन्दोलन अगाडि बढ्छ ।

उनले विगतमा पनि छलफल, बहस र वादविवादबाटै समस्या समाधान गर्दै आएको स्मरण गरेका छन् । पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाधिनुपर्ने पनि वरिष्ठ नेता नेपालले बताए । पार्टीको अनुशासनमा बाधिने र आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमिकमजोरीहरूलाई सुधारेमा कम्युनिष्ट आन्दोलन र पार्टीको एकतालाई बचाउन सकिने नेता नेपालको भनाइ थियो । पार्टी सचिवालय बैठक बस्नु अघि नेता नेपालले सो धारणा राखेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *