राजनीति

ओलीलाई झुकाउने रणनीति बनाउन खुमलटारमा पाँचभाइ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुकाउने रणनीति तय गर्न खुमलटारमा पाँच भाइको छलफल भएको छ । सचिवालय बैठक भोलि (शुक्रबार) अपरान्ह चार बजे बस्ने भएपछि उनीहरुले बेग्लै रणनीति तय गर्न खुमलटार जम्मा भएका हुन् ।

शुक्रबारको बैठकमा एक मतका साथ जानलाई विहिबार साँझ खुमलटारमा अध्यक्ष प्रचण्डसहित पाँच नेताको छलफल भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको स्रोतको भनाइ छ । भोलिको बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरूलाई छुट्टाछुट्टै भेटेर भोलि कसरी प्रस्तुत हुने भनेर छलफल गरेको एक नेताले जानकारी दिए । ‘सबै सामूहिकरूपमा बसेको होइन । अध्यक्ष कमरेडले सचिवालयका सदस्यहरूलाई छुट्टाछुट्टै भेट्नुभएको हो’, एक नेताले भने । अध्यक्ष प्रचण्डसँग छलफल गर्न वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बिहीबार अपराह्न खुमलटार पुगेका थिए । उपाध्यक्ष वामदेव गौतमलाई साँझ निम्त्याइएको ती सदस्यको जिकिर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *